टुरिजम तथा होटेल मेनेजमेन्ट क्षेत्रमा रोजगारीको अभाव

Category: Job News | Date: | Total Views: 5501


सन १९९९मा पोखरा विश्वविद्यालयको सम्बन्धन पश्चात् स्थापना गरिएको नेपाल टुरिजम एण्ड होटेल मेनेजमेन्ट कलेज अहिले युवाहरुमाझ निकै लोकप्रिय बन्दै आएको छ। टुरिजम एण्ड होटेल मेनेजमेन्टको विषयमा केन्द्रित विभिन्न कलेजबाट बार्षिक २००० विद्यार्थी  उतिर्ण हुने गरेका छन्। यस कलेजले सन् २००२ बाट हालसम्म १३ ब्याच बिद्यार्थी उत्पादन गरिसकेको छ।   

सिल्वर माऊनटेन कलेजका इन्टर्नशिप तथा प्लेसमेन्ट मेनेजर सुनिल श्रेष्ठका अनुसार टुरिजम तथा होटेल व्यवस्थापनका कोर्शहरु शीपमुलक छन्। यस्ता कोर्शमा विद्यार्थीहरुले सैदान्तिक मात्र नभई नयाँ शीपको ज्ञान पनि बटुल्न पाउने श्रेष्ठको भनाई छ।   

यस्ता शीपमुलक पाठ्यक्रमले विद्यार्थीलाई रोजगारीको अवसर मात्र नदिएर आत्मानिर्भर पनि बनाउछ। “सत प्रतिशतमा ८०% रोजगारीको अवसरमा बिदेशिनछन भने यसको ४०% नयाँ शीप लिएर नेपाल फर्किएका छन्“ श्रेष्ठ भन्छन । रोजगारीकोलागि बिदेशिने क्रमलाई सकरात्मक रुपमा लिने हो भने, त्यहाबाट नयाँ शीप लिएर आउने विद्यार्थीहरुले नेपालका विभिन्न ५ तारे होटलमा उच्च पदमा कार्यरत रहेको पाइनछ।  

“जम्मा १६० सिटकोलागि करिब १५०० आवेदन आउने गरेको छ," नेपाल टुरिजम एण्ड होटेल मेनेजमेन्ट कलेजका मुख्य अधिकारी, शिव प्रसाद जैशीले मेरो जब डट कम लाई जानकारी दिए। तोकिएको १६० सिटमा ५०% महिला र बाँकी ५०% सिट पुरुषलाई निर्धारण गरिएको उनले बताए। कोर्शको नितीअनुसार बिद्यार्थीले ३ वर्ष नेपालमा सैदान्तिक पढाई र १ वर्ष प्रयोगात्मक प्रशिक्षण गर्नुपर्ने हुन्छ।   

प्रशिक्षणको लागि धेरै बिद्यार्थी युरोप, अमेरिका जस्ता देश जाने गरेका छन्। नेपालमा पाँचतारे होटेलहरुको कमीले अक्सर विद्यार्थीहरु प्रशिक्षणकै लागि अन्य मुलुकमा जान विवस भएको पनि अध्ययनले देखाएको छ।  हालसम्म नेपालमा जम्मा ८ वटा मात्रै पाँचतारे होटेल छन्। यी ८ होटेलले उतिर्ण  बिद्यार्थीहरुको माग पुरा गर्न असम्भव भएकोले बिद्यार्थीहरु रोजगरिको लागी विदेसिन बाध्य छन्।    

करिब ९०% उतिर्ण बिद्यार्थी राम्रो रोजगारी अवसरको लागि बर्सेनी बिदेसिने गरेका कलेजका अधिकारी जैशीले बताए। हालसम्म विश्व विद्यालयबाट उपाधि लिएकामध्धे ८९% बिद्यार्थी बैदेशिक रोजगारीमा छन् भने जम्मा ५% बिद्यार्थी  नेपालमा बसेर आफ्नै व्यवसाय सुरु गर्न सफल भएका छन्। कम तलब र उच्च स्तरीय कामको अभावले गर्दा बिद्यार्थीहरु विदेशनै जान खोज्ने जैशीको भनाइ छ।   

नेपालमा हाल आठवटा पाँचतारे र करिव ५०० वटा स्तरीय होटेल मात्र भएको तथ्यांकले देखाएको छ। वर्षेनी २००० विद्यार्थी उतिर्ण हुने र सबैको चाहना पाँचतारेमै काम गर्ने भयो भने प्रति पाँचतारे २५० कर्मचारी वर्षेनी थप्नुपर्ने हुन्छ। योग्य मनावश्रोत र उतिर्ण विद्यार्थीहरुको माग पूरा गर्न हाल यो उद्ध्योगमा सम्भव देखिदैन।   

“होटेलको कमीले गर्दापनि विद्यार्थीहरु बिदेशिन बाध्य छन्। बर्शैनी उत्पादित बिद्यार्थीको संख्या अनुसार होटेल संख्यामा वृद्धि हुन नसकिनु पनि एक मुख्य कारण रहेको छ।“ माग अनुसार ५ तारे होटलको वृद्धि भएमा विद्यार्थीहरुलाई नेपालमै काम गर्ने अवसर हुने श्रेष्ठले बताए।   

गत वर्षहरुमा यस बिषयतर्फ रुची बढ्दै गए अनुसार पढाईको बातावरण पनि सुधारिएको पाईन्छ।  नेपाल सरकार, होटेल व्यवसायी र शैक्षिक संस्थाहरुले रोजगारीको निम्ति अनुकुल वातावरण बनाउन सहयोग गरे यो क्षेत्र अझ फस्टाउने विज्ञहरुको बुझाई छ। देशको विकासका लागि देशभित्रकै योग्य मानवश्रोतलाई आफ्नै देशमा केहि गर्ने र अगाडी बढ्ने अवसर तथा वातावरण उपलब्ध गराउन सबै क्षेत्रबाट पहल हुन जरुरी देखिन्छ। पर्यटनको ठुलो सम्भावना भएको देश नेपालमा होटेल व्यवसायलाई सुव्यवस्थित गर्न र योग्य मानवश्रोत उत्पादन गर्न यस्ता विश्वविद्यालय र होटेल व्यवसायीबीच सरकारले पुलको भूमिका निर्वाह गर्न सक्छ।


job_kurakani_detail_page
Search, Apply & Get Job: FREE